वीरगंज , १७ माघ –
मधेश साहित्य महोत्सव २०२६ को आज तेस्रो दिन विविध साहित्यिक, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित सञ्चालन हुँदैछ। आयोजकका अनुसार आजको कार्यक्रम विशेष गरी भोजपुरी साहित्य, गाउँ–शहर सम्बन्ध र लोकसंस्कृतिमा केन्द्रित रहनेछ ।
तेस्रो दिनको पहिलो सत्रमा ‘गाउँ बनाम शहर, शहर बनाम गाउँ’ विषयमा साहित्यकार सीके लालले एकल प्रस्तुति दिनेछन्। त्यसपछि ‘भोजपुरी साहित्यमा गाउँ’ विषयक दोस्रो सत्रमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आजै समापन समारोह पनि आयोजना हुँदैछ, जसमा मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। समारोहको अध्यक्षता वीरगंज महानगरपालिकाका नगर प्रमुख तथा महोत्सव संरक्षक राजेशमान सिंहले गर्नेछन् ।
साँझको मुख्य आकर्षणका रूपमा चर्चित भोजपुरी गायिका कल्पना पटवारी वीरगंज आउने कार्यक्रम तय भएको छ । उनले स्थानीय कलाकारहरूसँग मिलेर विशेष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। यसअघि हरि गान, बहुभाषिक कवि गोष्ठी, नटुवा नाच, गीत तथा नाटक प्रस्तुत भइसकेका छन् ।
मधेशको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दर्शक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ ।









