जसपा परित्याग गर्दै वीरगंज –११ र १३ का जनप्रतिनिधिसहित सयौँ एमालेमा प्रवेश

वीरगंज , १७ माघ –

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँ नेता तथा कार्यकर्ताले जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेहरूमा वीरगंज –११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवी तथा वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी र निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरी रहेका छन्।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई सत्ता केन्द्रित राजनीतिमा सीमित गरेको आरोप लगाए। वर्तमान अवस्थामा देश र जनताको हितका लागि दृढ नेतृत्व आवश्यक रहेको भन्दै एमाले रोजेको उनको भनाइ थियो।

यस्तै, पूर्व वडाध्यक्ष अन्सारीले देशी–विदेशी शक्तिको प्रभावमा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको दाबी गर्दै राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि एमाले प्रवेश गरेको बताए। पार्टी प्रवेश गराउँदै यादवले जेन–जी आन्दोलनपछि बढेको बाह्य दबाब र राष्ट्रिय स्वाधीनताको सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट आफू प्रभावित भएको उल्लेख गरे।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः