पर्सा–३ का उम्मेदवार पाण्डेको छ वटा विकास एजेन्डा

पर्सा , १७ माघ –

पर्सा जिल्ला क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्ने उद्देश्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन्।

उनी कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहसम्म पुर्‍याउने योजनासहित चुनावी मैदानमा उत्रिएका हुन्।

पाण्डेका अनुसार कृषि क्षेत्रमा गुणस्तरीय मलखाद र बिउ उपलब्ध गराउने, आधुनिक प्रविधि र तालिम प्रदान गर्ने, नयाँ बाली, तरकारी, फलफूल र पशुपालनमा कृषकलाई प्रोत्साहन गर्ने योजना रहेको छ।

स्वास्थ्य क्षेत्रमा सबै गाउँपालिका र वडाका स्वास्थ्य संस्था र अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पताल सुदृढीकरण गरिने तथा डिजिटल प्रविधिमैत्री सेवा विकास गरिने जनाइएको छ।

शिक्षामा विद्यालय सरसफाइ, विद्यार्थी–अभिभावक–शिक्षक अन्तरक्रिया, सीपमूलक शिक्षा, खेलकुद, वादविवाद र वक्तृत्वकला प्रतियोगितामा जोड दिइने बताइएको छ।

रोजगारी र उद्यमशीलतामा स्थानीय स्रोत र सीपमार्फत रोजगार सिर्जना गर्ने, उद्योग स्थापना सहयोग र युवालाई तालिम प्रदान गर्ने योजना रहेको छ।

पूर्वाधारमा सडक, पुल, ढल, बिजुलीबत्ती लगायतका आधारभूत संरचना विकास र नागरिकको आवाज संसद् र नीति निर्माण तहसम्म पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

पाण्डेका अनुसार यी एजेन्डा कार्यान्वयनले पर्सा–३ को समग्र विकास र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित पोस्टहरुः