बिरगंज, १७ माघ –
नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपाल (नेशनल प्याब्सन) बहुदरमाई नगर कमिटीको आयोजना मा “सबै राष्ट्रिय निजी र बोर्डिङ स्कूललाई एकै ठाउँमा ल्याऔँ” भन्ने मूल नारासहित नकआउट क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ।
उद्घाटन कार्यक्रममा नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने नगर अध्यक्ष रबि कुमार साह तेलीले कार्यक्रमको अध्यक्षता गर्नुभयो। कार्यक्रममा नेशनल प्याब्सन वीरगञ्जका नगर अध्यक्ष सोनालाल पटेल, प्रमोद रायमाझी र बहुदरमाई–२ का वडा अध्यक्ष जितेन्द्र पटेल लगायतका विशिष्ट अतिथि उपस्थित थिए।
प्रतियोगिता बहुदरमाई स्टेडियम, पिपरामा पाँच विद्यालयबीच नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरको क्रिकेट प्रतिभा पहिचान गर्ने, शैक्षिक संस्थाबीच आपसी एकता, सहकार्य र विद्यार्थी तथा शिक्षकहरूमा खेल भावना विकास गर्ने उद्देश्य राखेको छ।
नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकले प्रतियोगिता भोलि समापन हुने जानकारी दिएका छन्।








