वीरगंज , १७ माघ –
प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशभर कडा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रदेशका आठ जिल्लामा तीन तहको सुरक्षा परिचालन गरिएको छ भने अतिसंवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गरिनेछ।
मधेश प्रदेशमा दुई हजार १६० मतदानस्थल र चार हजार ४७१ मतदान केन्द्र छन्। तीमध्ये ५७ प्रतिशत मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन्। प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार सामाजिक–राजनीतिक अवस्था, भौगोलिक परिस्थिति र विगतका घटनाका आधारमा मतदानस्थल वर्गीकरण गरी सुरक्षा परिचालन गरिएको हो।
खुला सीमाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षाका लागि १२ हजारभन्दा बढी नेपाल प्रहरी, २८ हजारभन्दा बढी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालनको तयारी गरिएको छ।








