पर्सा–१ मा एमालेको जनसमर्थन बढेपछि विपक्षी आत्तिएको यादवको दाबी

वीरगंज , १८ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफू र पार्टीप्रति बढ्दो जनसमर्थन देखेर विपक्षी दलहरू आत्तिन थालेको दाबी गरेका छन्।

शनिबार वीरगंज महानगरपालिका–१६ नगवामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रमपछि प्रतिक्रिया दिँदै यादवले केही अराजक समूहले कार्यक्रम बिथोल्ने प्रयास गरे पनि असफल भएको बताए। उनका अनुसार पर्सा–१ मा देखिएको जनलहर विपक्षीलाई सह्य नहुँदा यस्ता गतिविधि देखिन थालेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका यादवले नगवामा भएको कार्यक्रममा उल्लेखनीय जनसहभागिता र उत्साहजनक उपस्थितिले पर्सा–१ मा एमालेको स्थिति बलियो बन्दै गएको संकेत गरेको बताए।

यादवले विपक्षीबाट प्रायोजित समूहले कार्यक्रम बदनाम गर्न खोजे पनि स्थानीय नागरिककै सक्रियताले त्यसलाई विफल बनाएको दाबी गरे।

उनले जनताले अब पुरानो राजनीतिक शैलीभन्दा परिणाममुखी, जवाफदेही र विकास केन्द्रित नेतृत्व खोजिरहेको उल्लेख गर्दै नगवामा देखिएको समर्थन जनचेतना र परिवर्तनको चाहनाको प्रतिविम्ब भएको बताए।

सम्बन्धित पोस्टहरुः