‘वीरगञ्ज आईडल’को फागुन २ गते अडिसन

वीरगञ्ज । नेक्स्ट जेनेरेसन ईभेन्ट प्रा.लि.को आयोजनामा गायन रियालिटी शो “वीरगञ्ज आईडल” आयोजना हुने भएको छ । उक्त कार्यक्रम माई टेलिभिजनबाट प्रसारण गरिने आयोजकले जनाएको छ ।

यसअघि वीरगञ्ज स्कुल आईडलका दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभवका आधारमा यसपटक खुला प्रतिस्पर्धाका रूपमा वीरगञ्ज आईडल आयोजना गर्न लागिएको हो । कार्यक्रमको मुख्य उद्देश्य वीरगञ्ज तथा आसपासका क्षेत्रका लुकेका गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर प्रदान गर्नु रहेको आयोजकको भनाइ छ ।

वीरगञ्ज आईडलमा १५ वर्ष र सो भन्दा माथिका सबै उमेर समूहका इच्छुक प्रतिभाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता अडिसन, गाला राउण्ड र फाइनल चरणमार्फत सञ्चालन हुनेछ । अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरिनेछ । कार्यक्रमको अडिसन आगामी फागुन २ गते आयोजना गरिनेछ ।

कार्यक्रमका संयोजक सद्धाम हुसैनले पत्रकार सम्मेलनमा स्वागत मन्तव्य दिँदै वीरगञ्ज आईडलले स्थानीय गायन प्रतिभालाई प्लेटफर्म दिने र उनीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने उद्देश्य राखेको बताए ।

वीरगञ्ज आईडलका निर्णायक हरिरत्न तुलाधरले प्रतियोगिताले यहाँका कलाकार तथा गायन प्रतिभालाई पहिचान र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । अर्का निर्णायक प्रभात यादवले यस्ता कार्यक्रमले युवामा सिर्जनशीलता बढाउने र स्थानीय स्तरमै लुकेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामकिशोर सिंह परागले कला र प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आवश्यक रहेको बताए । कलाकार र खेलाडी समाजका गहना भएको उल्लेख गर्दै उनले यिनले स्थानको गरिमा र पहिचानलाई उचाइमा पु¥याउने धारणा राखे । साथै, वीरगञ्जमा साहित्यिक तथा सांस्कृतिक गतिविधि चलायमान बनाउनुपर्नेमा जोड दिँदै आफू प्रतिनिधि सभा सदस्यमा विजयी भएमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न तथा कलाकार र कला पारखी जमघट गर्न सक्ने सार्वजनिक भवन वा सभा हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको निर्णायक मण्डलमा हरिरत्न तुलाधर, अशोक प्रधान, सद्धाम हुसैन र प्रभात यादव रहनेछन् । कार्यक्रमको प्रस्तोताका रूपमा सञ्चारकर्मी सूर्य शुभचिन्तक रहनेछन् ।

विजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने कभर म्युजिक भिडियोमा गाउने विशेष अवसर समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । साथै अन्य आकर्षक उपहारहरूको व्यवस्था पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूले कार्यक्रमको स्वरूप, निष्पक्षता र भविष्यको योजना सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

गायन क्षेत्रमा रुचि राख्ने सबै प्रतिभालाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरुः