वीरगंज , १९ माघ –
वीरगंजको ऐतिहासिक घण्टाघर छेउको बी.पी. उद्यान परिसरमा वीरगंज महानगरपालिकाले ग्रीनसिटीको सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वातावरण संरक्षण र सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख राजेशमान सिंह, ग्रीनसिटीका सामुदायिक अभियन्ता प्रकाश खेतान र पर्सा जिल्लाका प्रहरीलगायतका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
उक्त क्षेत्र लामो समयदेखि अव्यवस्थित तरकारी बजार सञ्चालन हुँदै आएकोले फोहर र अस्तव्यस्त बन्दै गएको स्थानीयवासीको गुनासो रहँदै आएको थियो।
नगर प्रमुख सिंहले घण्टाघर क्षेत्र वीरगञ्जको ऐतिहासिक पहिचान भएकाले यसलाई स्वच्छ, हरियाली र आकर्षक बनाउने महानगरपालिकाको प्राथमिकता रहेको बताएका छन्।
उनले बी.पी. उद्यानलाई सार्वजनिक विश्रामस्थल र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको पनि जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपण जस्ता वातावरणमैत्री पहलले सहरको सौन्दर्य बढाउने मात्र नभई प्रदूषण न्यूनीकरणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।









