वीरगंज , १९ माघ –
नेपाल–भारत सीमामा ठुलो परिमाणमा प्रतिबन्धित मनोप्रभावी औषधि नेपाल भित्र्याउने प्रयास विफल पार्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब १ लाख ४८ हजार नशालु ट्याब्लेट बरामद भएको छ।
एसएसबी ७१ औँ बटालियनको ‘ए’ कम्पनीले पूर्वी चम्पारण क्षेत्रबाट झरोखर हुँदै नेपालतर्फ तस्करी भइरहेको सूचना पाएपछि विशेष सुरक्षा सतर्कता बढाएको थियो। सहायक कमाण्डेन्ट बिश्वजित तिवारीको निर्देशनमा जमुनिया र झरोखर प्रहरीको संयुक्त टोलीले शनिबार साँझ करिब ५:३० बजे शङ्कास्पद इलेक्ट्रिक अटो रिक्सा रोकेर जाँच गर्दा ट्रमाडोल ५० एमजीका ४९५ प्याकेट फेला परेको हो।
पक्राउ परेका दुईजनाको पहिचान भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला बसतपुर कालोनी, मोतिहारी निवासी २२ वर्षीय तपस कुमार र २२ वर्षीय गुलशन कुमार भएको एसएसबीले जनाएको छ। बरामद औषधि र पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ।
उस्तै, एसएसबी ७१ औँ बटालियनकै अर्को अपरेसनमा नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको अवस्थामा २२ वर्षीय कृष्णा कुमार पक्राउ परेका छन्। उनलाई करिब २ किलो गाँजासहित महुवावा प्रहरी चौकीमा बुझाउने प्रक्रिया भइरहेको छ।
एसएसबीले सीमामा निरन्तर गस्ती बढाएर नशालु पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न ध्यान केन्द्रित गरिरहेको छ।









