पिएम कप क्रिकेटको तयारी तीव्र, वीरगंजमा रातभर मैदान मर्मत

वीरगंज , १९ माघ –

वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई वीरगंज महानगरपालिकाले तीव्र बनाएको छ। प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई मापदण्डअनुसार तयार पार्न रातदिन मर्मत तथा निर्माण कार्य भइरहेको छ।

तयारीको अवस्था बुझ्न महानगरपालिकाका प्रमुख राजेशमान सिंह स्वयं मैदानमा खटिएका छन्। शनिबार राति करिब १० बजे मैदान पुगेर मेयर सिंहले निर्माण तथा मर्मत कार्यको निरीक्षण गर्दै कामलाई गति दिन निर्देशन दिएका छन्।

मुख्य क्रिकेट पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीको अभ्यासका लागि थप पिच आवश्यक परेपछि नयाँ पिच निर्माण सुरु गरिएको छ। मुख्य पिचको पश्चिमतर्फको खाली स्थानमा माटो भरेर नयाँ पिच बनाउने काम रातको समयमा समेत भइरहेको छ।

प्रतियोगिता नजिकिँदै जाँदा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन र प्राविधिक तयारीलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ। चिसो मौसमका बाबजुद पनि राति ढिलोसम्म मेयर स्वयं उपस्थित भई अनुगमन गर्दा निर्माण टोली र खेलप्रेमीहरू उत्साहित देखिएका छन्।

पिएम कप क्रिकेट प्रतियोगिताले वीरगंजलाई पुनः क्रिकेट गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः