प्याब्सन टी–२० : वीरगंज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी क्वाटरफाइनलमा प्रवेश

वीरगंज , १९ माघ –
वीरगंजमा जारी प्याब्सन पर्सा आबद्ध विद्यालयस्तरीय प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजका तीन खेलबाट वीरगंज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेलमा साउथ जोन र वीरगंज एकेडेमीबीच प्रतिस्पर्धा भयो। टस जितेर पहिले ब्याटिङ गरेको बीरगन्ज एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनायो। जवाफमा साउथ जोनले ७ विकेटको क्षतिमा १०६ रन मात्र बनाउन सक्दा बीरगन्ज एकेडेमी १ रनको रोमाञ्चक जित निकाल्न सफल भयो। उक्त खेलमा अर्बाज अन्सारी म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा गोल्डेन फ्युचर र बिकन माविबीच खेल भयो। टस जितेर पहिले ब्याटिङ गरेको बिकन माविले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो। लक्ष्य पछ्याएको गोल्डेन फ्युचरले ३ विकेट गुमाएर ११.१ ओभरमै लक्ष्य पूरा गर्दै ७ विकेटको सहज जित हासिल गर्‍यो। निरन्जन यादव म्यान अफ द म्याच भए।

अन्तिम खेलमा डिएभी र ज्ञान ज्योति मावि आमनेसामने भए। टस जितेर बलिङ रोजेको डिएभीले ज्ञान ज्योति माविलाई ८ विकेटमा ७९ रनमा रोक्यो। जवाफमा डिएभीले १३.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटको जित हात पार्‍यो।

यी नतिजासँगै वीरगंज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन्।

सम्बन्धित पोस्टहरुः