वीरगंज ,२० माघ –
सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरिएको १५ लाख ५ हजार १०० रुपैयाँ बराबरको सामान बरामद गर्नुको साथै एक थान अटो नियन्त्रणमा लिएको छ ।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१४ गण्डक चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको ५ लाख ११ हजार १०० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।
त्यसैगरी वीरगंज महानगरपालिका–१६ इनर्वाका विभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले विभिन्न सवारी साधनमा लुकाइछिपाई ल्याइँदै गरिएको ५ लाख ९६ हजार रुपैयाँ बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स तथा मोटर पार्ट्स बरामद गरेको जनाएको छ ।
यसका साथै करिब ४ लाख रुपैयाँ बराबरको एक थान अटोसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बरामद सबै सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको बताए ।









