वीरगंज , २१ माघ –
वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली क्षेत्रमा रातिको समयमा लुकी–लुकी दर्जनौँ वटा खानेपानीका धारामा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। घटनापछि स्थानीय क्षेत्रमा आक्रोश फैलिएको छ भने खानेपानी आपूर्तिमा समस्या देखिएको छ।
घटनापछि प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै मुर्ली नयाँ टोलका दुई जना युवकलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा पनि छानबिन भइरहेको जानकारी दिएको छ। संलग्न देखिए थप व्यक्ति पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।









