चुनाव प्रचारमा सवारी प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति अनिवार्य

1200x150_1200x150-01.jpg (1)

वीरगंज , २२ माघ –

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा सवारीसाधन प्रयोगलाई व्यवस्थित गर्न नयाँ कार्यविधि लागू गरेको छ। आयोगले जारी गरेको ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले प्रचारका लागि गाडी प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्नेछ।

कार्यविधिअनुसार प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी प्रयोग गर्न पाउनेछन्। पालिकातर्फ महानगर तथा उपमहानगरका मेयर वा उपमेयरले दुईवटा, नगरपालिका वा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले एउटा र वडा तहका उम्मेदवारले एक गाडी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सवारी नचल्ने स्थानमा घोडा प्रयोग गर्न सकिने प्रावधान पनि राखिएको छ।

मौन अवधिमा प्रचारका लागि कुनै पनि गाडी प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। अनुमति बिना वा मौन अवधिमा गाडी चलाएमा ती सवारी नियन्त्रणमा लिई निर्वाचनपछि मात्रै फिर्ता गरिने आयोगले जनाएको छ। मतदानको दिन अनुमति प्राप्त गाडीबाहेक अन्य सवारी चलाउन पनि रोक लगाइएको छ।

यद्यपि उम्मेदवार, सुरक्षाकर्मी, निर्वाचन अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक तथा आयोगले तोकेका अन्य निकायलाई विशेष अनुमति दिइनेछ। एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा जस्ता आकस्मिक सेवाका सवारीसाधनले भने अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित पोस्टहरुः