वीरगंज , २२ माघ –
पर्सा जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ वटा अति संवेदनशील सूचीमा राखिएका छन्। बाँकीमध्ये ८५ मतदानस्थल संवेदनशील र २० वटा कम संवेदनशील वर्गमा परेका छन्।
जिल्लामा दुई अस्थायीसहित कुल ४ सय ४३ मतदान केन्द्र रहेका छन्। चार निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ मतदानस्थल छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत निरीक्षण तीव्र बनाएको छ। हालसम्म ६० वटा मतदानस्थलको निरीक्षण सम्पन्न भइसकेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालयलगायतको टोलीले मतदानस्थलको भौतिक अवस्था, सम्भावित सुरक्षा जोखिम र तयारीको मूल्यांकन गरिरहेको जनाएको छ।
निरीक्षणका आधारमा सुरक्षा रणनीति परिमार्जन गर्नुका साथै सुरक्षा निकायबीच समन्वय बढाइएको प्रजिअ दाहालले जानकारी दिए ।
खुला सीमा रहेको पर्सामा निर्वाचन अवधिभर सीमा क्षेत्रको निगरानी कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार आवश्यक जनशक्ति परिचालन र सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्साले मतदाता शिक्षामा जोड दिँदै निर्वाचन आचारसंहिताबारे सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ। कार्यालय प्रमुख अनामिका रौनियारले उम्मेदवारलाई भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्न नपाइने विषयमा समेत जानकारी गराए ।









