बारा र रौतहटमा दुर्घटना दुईजनाको मृत्यु

वीरगंज, २२ माघ । बारा र रौतहटमा बिहीवार सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बारा जिल्लाको जीतपुरमा बिहीवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका ३२ का २५ वर्षीय लक्की सहनी रहेका छन् ।

वीरगंजबाट आउँदै गरेको ना५२प ४४१२ नम्बरको मोटरसाइकल बिहान करिब ३ बजे जीतपुरको रातोपुल नजिक दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल सडकछेउको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १९ वर्षीय सुरज ठाकुर घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भईरहेको छ । घाइतेको खुट्टा र शरीरमा चोट लागेको छ ।

यसैगरी रौतहट जिल्लामा रास्वपा उम्मेदवारको कारको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ। इशनाथ नगरपालिकाको मठियामा भएको दुर्घटनामा चार वर्षीया बालिकाले ज्यान गुमाएकी हुन।

रौतहट प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार रास्वपाका क्षेत्र नम्बर २ का उम्मेदवार शेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको हो।

प्रहरीका अनुसार बालिका बाटोमा खेलिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको भएपनि दुर्घटनाका समयमा उम्मेदवार स्वयम् गाडीमा सवार नभएको प्रहरीले स्पष्ट पारेको छ। उम्मेदवार सगिरको सचिवालयले समेत घटना हुँदा उम्मेदवार गाडीमा नभएको जनाएको छ । ठक्कर दिने गाडी नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित पोस्टहरुः