पर्सा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार रुङ्टाको सम्पर्क कार्यालय सञ्चालन

वीरगंज , २३ माघ –

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्टाको सम्पर्क कार्यालय वीरगंज महानगरपालिका वडा नं. १६, इनार्वामा सञ्चालनमा आएको छ । कार्यालयको उद्घाटन उम्मेदवार रुङ्टाले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै रुङ्टाले सम्पर्क कार्यालय पार्टी र जनताबीचको समन्वय केन्द्रका रूपमा रहने बताए । उनले यस कार्यालयमार्फत जनताका समस्या, सुझाव र अपेक्षालाई प्राथमिकताका साथ सुन्ने र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै अवसरमा वडा नं. १६ मा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम पनि सञ्चालन गरेको छ । बुथ सभापतिको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य सहभागिता रहेको थियो ।

घरदैलोपछि प्रतिक्रिया दिँदै उम्मेदवार रुङ्टाले जनताबाट प्राप्त समर्थनले आफूलाई थप जिम्मेवारीबोध गराएको बताए । उनले विकास, सुशासन र समावेशी सोचलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंहलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कांग्रेस उम्मेदवार रुङ्टालाई एकताबद्ध रूपमा विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः