बारा, २३ माघ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको हाताभित्र रहेको पैनीमा एकजना पुरूषको शव फेला परेको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार शवको अवस्था हेर्दा ४–५ दिन अघिनै उनको मृत्यु भएको हो । उनको पैनीको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मृतकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनी कसरी केन्द्रको हाताभित्र प्रवेश गरे भन्ने समेत खुल्न सकेको छैन ।
केन्द्रमा कार्यरत सुरक्षागार्डका अनुसार तीन पुरूष वरपरकै उद्योगमा काम गर्ने गरेका थिए । सुरक्षागार्डका अनुसार उनी केन्द्रको अगाडीकै बाटोबाट आउने जाने गर्थे ।
केन्द्रको कार्यालयमा कार्यरत कर्मचारीले पुरूषलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना मुचुल्का गरी शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ ।
एक महिला केही दिनदेखि आफ्नो श्रीमान् घर नआएको भन्दै खोजी गर्दै हिडिरहेकी थिईन् । ती महिलाले केन्द्रका सुरक्षागार्डलाई समेत आफ्नो श्रीमानको विषयमा सोध्ने गरेकी थिईन् । मृत भेटिएका पुरूष ती महिलाकै श्रीमान् रहे– नरहेको सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








