पर्सा , २४ माघ –
थरुहट सडकअन्तर्गत पर्ने पर्सा जिल्लाका दुईवटा महत्त्वपूर्ण पुल १७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दा गम्भीर सास्ती भोग्न बाध्य छन्। निर्माण सुरू भएको झन्डै पौने दुई दशक पुग्न लाग्दासमेत काम अधूरै रहँदा विकासप्रतिको सरकारी उदासीनता र ठेकेदारको गैरजिम्मेवारी खुल्ला रूपमा देखिएको छ।
पर्सा क्षेत्र नम्बर–३ अन्तर्गत पर्सागढी नगरपालिका–९ एकटाँगामा रहेको तिलावे खोलाको पुल पप्पु कन्स्ट्रक्शनले साढे पाँच करोड रुपैयाँको ठेक्कामा निर्माण थालेको थियो। तर, बीचमै काम छाडेर अलपत्र पारिँदा थरुहट सडकको आवागमन नै प्रभावित बनेको स्थानीय हृदयनारायण यादवले बताए।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर–३ को पटेर्वासुगौली गाउँपालिका–४ (सुगौली फरदवा) र क्षेत्र नम्बर–४ को जीराभवानी गाउँपालिका–५ जोड्ने भलुवाही खोलाको पुल पनि उस्तै अवस्थामा छ। यो पुल वाईपी मोना कन्स्ट्रक्शनले साढे पाँच करोड रुपैयाँमा ठेक्का लिएर निर्माण थालेको भए पनि वर्षौं बित्दा काम पूरा हुन सकेको छैन।
यी दुवै पुल थरुहट सडकका मुख्य मेरुदण्ड मानिन्छन्। वर्षायाममा खोलामा बाढी आउँदा हजारौं स्थानीयको आवागमन ठप्प हुने गरेको छ। एम्बुलेन्स समयमा नपुग्दा बिरामीको ज्यान जोखिममा पर्ने, किसानले उत्पादन बजारसम्म लैजान नसक्ने र ढुवानी खर्च अत्यधिक बढ्ने समस्या देखिँदै आएको छ। सुरक्षा निकायको नियमित गस्ती र आपत्कालीन परिचालनमा समेत ठूलो बाधा पुगेको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदा पनि ठोस पहल नदेखिएको बताएका छन्। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारले पुल निर्माणको आश्वासन बाँडिरहेका भए पनि स्थानीय अब त्यस्ता प्रतिबद्धताप्रति विश्वस्त छैनन्।
“१७ वर्षदेखि पुल जस्ताको त्यस्तै छ, चुनाव आयो भन्दैमा कसरी विश्वास गर्ने ?” स्थानीयको प्रश्न छ। उनीहरू ठेकेदार र नेताबीचको मिलेमतोले गाउँको विकास रोकिएको आरोप लगाउँदै आएका छन्। तीन पटकको निर्वाचन भोगिसकेको यो पुलले अबको चुनावपछि पनि उस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता स्थानीयमा गहिरिँदै गएको छ।









