१०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
नेपालले समग्रमा तेस्रो पटक तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दुई पटक विश्वकप खेल्दैछ भने दुई पटकको च्याम्पियन इंग्ल्याण्डसँगको खेललाई ऐतिहासिक मानिएको छ। समूह चरणका नेपालका चारै खेल वानखडेमै हुनेछन्।
यस विश्वकपमा आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् भने सोमपाल कामी नेपालका तीनै विश्वकप खेल्ने एक्ला खेलाडी हुन्। विश्वकपअघि युएई र क्यानडाविरुद्ध अभ्यास खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ।
नेपाल रहेको समूहमा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। प्रतियोगिता मार्च ८ (फागुन २४) सम्म चल्नेछ।









