मुम्बई , २५ माघ –
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल–इङ्ल्यान्ड खेलमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपालका लागि १८५ रनको चुनौती प्रस्तुत गरेको छ।
इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनायो। ज्याकोब वेथे ३५ बलमा ५५ रन र कप्तान ह्यारी ब्रुक ३२ बलमा ५३ रन बनाए। जोस बट्लरले २६, विल ज्याक्सले अविजित ३९ रन योगदान गरे।
नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट लिए। यस खेलमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले टी–२० विश्वकपमा डेब्यू गरेका छन्।
नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्। नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ।









