पर्सा–२ मा कांग्रेस कमजोर बन्दै, अजय चौरसियालाई चुनौती बढ्दै

पर्सा,२६ माघ-

पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाको राजनीतिक अवस्था कमजोर बन्दै गएको देखिएको छ। जसपा नेपाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूको आक्रामक चुनावी अभियान, आकर्षक नारा र सामाजिक सञ्जालमा बढ्दो गतिविधिले कांग्रेसको परम्परागत पकड खुम्चिने जोखिम बढेको छ।

यसअघि यही क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत बनेका चौरसियाप्रति मतदाताको असन्तुष्टि बढ्दै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। पार्टीभित्रै असन्तुष्टि चुलिँदै जाँदा कांग्रेसका नेता–कार्यकर्ता अन्य दलमा प्रवेश गर्ने क्रम जारी रहेकाले संगठन थप कमजोर भएको उनीहरू बताउँछन्।

यसैबीच, वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका कांग्रेसका पुराना नेता रामजी प्रसाद कुर्मीले पार्टी परित्याग गरेका छन्। उनको बहिर्गमनपछि सुगौली क्षेत्रमा कांग्रेस झन् कमजोर हुने आँकलन गरिएको छ।

पर्सा–३ बाट आएर पर्सा–२ मा उम्मेदवारी दिएका चौरसियाले जनअपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्री हुँदा विवादमा परेको र ‘बाहिरिया उम्मेदवार’को छवि बनेको आरोप पनि उठिरहेको छ। यस कारण यसपटक मतदातामा उनको आकर्षण घटेको बताइन्छ।

आगामी निर्वाचनमा पर्सा–२ मा एमालेकी रिमा यादव, नेकपाका मनोज चौधरी, राप्रपाकी बिना जैसवाल र रास्वपाका सुशिल कानुलगायत उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कांग्रेसका केही नेताहरूले अझै पनि मुख्य प्रतिस्पर्धा कांग्रेसकै वरिपरि हुने दाबी गरे पनि कमजोर संगठन, आन्तरिक असन्तुष्टि र पुरानै शैलीमा चुनावी अभियान चलाइरहेको भन्दै कांग्रेसकै युवा नेताहरूबाट समेत चौरसियाप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ।

सम्बन्धित पोस्टहरुः