बारा, २७ माघ –
नेकपा एमालेले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ औराहामा निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) को नेतृत्वमा कार्यालय स्थापना गरिएको हो।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्र” भन्ने नारासहित सुरु गरिएको कार्यालयले निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाइएको छ।
उद्घाटन कार्यक्रममा उम्मेदवार श्रेष्ठले आफ्नो राजनीतिक अनुभव, विकास निर्माणमा गरेको योगदान र भावी योजनाबारे जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक तथा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठन सुदृढीकरण गर्दै घरदैलो अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्।
कार्यालय उद्घाटनसँगै मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन तथा प्रचार–प्रसारलाई व्यवस्थित रूपमा अघि बढाइने जनाइएको छ। स्थानीयवासीहरूले विकास र स्थायित्वका लागि कृष्णकुमार श्रेष्ठलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।








