रौतहट, २७ माघ–
रौतहट–२ लाई विकासको मोडेल बनाउने आलमको प्रतिबद्धता
नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दोस आलमले रौतहट निर्वाचन क्षेत्र नम्बर २ लाई अब केवल भोट बैंकको रूपमा नभई विकासको मोडेल क्षेत्र बनाउने समय आएको बताएका छन्। कांग्रेसको सरकार बनेर आफू निर्वाचित भए योजनाको भाषण होइन, कामको राजनीति देखिने उनको दाबी छ।
कांग्रेस नेताहरूले स्थानीयस्तरमा आकस्मिक रूपमा उदाएका र राजनीतिक निरन्तरता नदेखिएका उम्मेदवारले रौतहट–२ लाई प्रयोगशाला बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। पाँच वर्ष जनताको समय बर्बाद गर्ने गरी चुनावको बेला मात्र देखिने प्रवृत्तिप्रति स्थानीय मतदातामाझ असन्तोष बढ्दै गएको उनीहरूको भनाइ छ।
राजनीतिक वृत्तमा यसपटक काम गर्ने र केवल भाषण गर्ने उम्मेदवारबीचको फरक जनताले प्रस्ट बुझ्न थालेको चर्चा छ। रौतहट–२ अन्तर्गत ईशनाथ, राजपुर, परोहा, बौधीमाई नगरपालिकाका सम्पूर्ण वडा तथा देवाही गोनाही र मौलापुर नगरपालिकाका केही वडा पर्दछन्।
फागुन २१ गते हुने निर्वाचनले रौतहट मात्र नभई समग्र मधेशको बदलिँदो राजनीतिक धारलाई संकेत गर्ने विश्लेषकहरूको भनाइ छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका डा. आलम र अन्य दलका उम्मेदवारबीच हुने देखिएको छ।
स्थानीय विश्लेषकहरूका अनुसार यो निर्वाचन व्यक्ति–व्यक्तिको मात्र नभई विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको प्रतिस्पर्धा हो। विगतका विवाद र राजनीतिक कलहको छायाँ अझै मेटिन नसके पनि आलमको उम्मेदवारीलाई त्यसबाट बाहिर निस्केर विकासको एजेन्डा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।








