ढाका, २७ माघ –
आगामी निर्वाचनमा न्यायसंगत राजनीतिक प्रतिनिधित्वको माग गर्दै बङ्गलादेशी महिलाहरूले सोमबार ढाकाको सडकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारी महिलाहरूले भनिन्, “सन् २०२४ को विद्रोहको नेतृत्वमा भूमिका खेले तापनि राजनीतिक निर्णयप्रक्रियामा हाम्रो सहभागिता सीमित छ।” हाल चार प्रतिशतभन्दा कम महिला उम्मेदवार चुनावी प्रक्रियामा रहेका छन् भने ३० वटा दलले पुरुष उम्मेदवारलाई मात्र टिकट दिएका छन्।
महिलाहरूले धार्मिक र राजनीतिक र्यालीहरूमा लक्षित बढ्दो भेदभावले उनीहरूलाई सार्वजनिक जीवनबाट वञ्चित बनाउने प्रयास भएको आरोप लगाइन्। आगामी फेब्रुअरी १२ मा हुने मतदान शेख हसिनाको सरकार अपदस्थ भएपछि पहिलो निर्वाचन हुनेछ।
प्रदर्शनकारीहरूले न्याय, समानता र समावेशितामा आधारित देश निर्माणको आकाङ्क्षा व्यक्त गर्दै बिस्तारै सार्वजनिक क्षेत्रबाट महिलाहरू हराइरहेको प्रति दुःखेसो गरे। यद्यपि, बङ्गलादेश लामो समयदेखि शक्तिशाली महिलाहरूद्वारा नेतृत्व गरिएको देश रहेको स्मरण गराइयो।









