वीरगन्ज । मधेस प्रदेशमा यसवर्ष साढे ९६ हजार जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइदैँछ ।
खोप अभियानअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई माघ २५ गतेदेखि फागुन १५ गतेसम्म एचपीभी खोप लगाइनेछ ।
प्रदेशका एक हजार ४९६ सामुदायिक तथा एक हजार २२८ संस्थागत गरी दुइ हजार ७२४ विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्राहरु तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउने लक्ष्य लिइएको मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
विद्यालय जाने ६९ हजार ६६८ तथा विद्यालय बाहिरका २७ हजार १०८ जना गरी प्रदेशभर ९६ हजार ७७६ जना किशोरीलाई ‘एचपीभी’ खोप लगाइने निर्देशनालयले जानकारी दिएको छ ।
मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोपसम्बन्धी तालिम प्रदान गरी अभियानमा खटाइएको बताए ।
‘पाठेघरको मुखको क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भनेको यसविरुद्धको खोप लगाउनु हो । समयमा रोगको निदान तथा उपचार नभएर महिलाहरुले ज्यान गुमाउनु परेका घटना दोहोरिन नदिन लक्षित समूहका सबै किशोरीहरुलाई खोपको पहुँचमा ल्याउनु जरुरी छ । त्यहीकारण लक्षित उमेर समूहका कोही पनि किशोरीहरुलाई नछुटाइ खोप लगाउनु हाम्रो मुख्य टार्गेट हो’, उनले भने ।
विद्यालय बाहिरका किशोरीलाई खोप लगाउन आफ्नो परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ । भने विद्यालय जानेहरुका लागि विद्यालयमा दर्ज विवरणको आधारमा लगाइदैंछ ।
मधेस स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका लक्षित उमेर समूहकामध्ये विद्यालय जाने तथा विद्यालय बाहिरका गरी ९६ हजार ७७६ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ ।
जसअनुसार सबैभन्दा बढी रौतहटका किशोरीहरुलाई एचपीभी खोप दिइदैँछ। अर्थात्, रौतहटमा १७ हजार ३१९ जनालाई यो खोप लगाउने योजना छ ।
यसैगरी धनुषामा १६ हजार ९१५, महोत्तरीमा ११ हजार ७३७, सिरहा ११ हजार ११९ जनालाइ जनालाई उक्त खोप लगाइदैछ । यस्तै सर्लाही ११ हजार ११९, सप्तरी ९ हजार ७८९, पर्सा ९ हजार ७३२ तथा बारा ९ हजार ४६ जना किशोरीलाई खोप लगाइने निर्देशनालयको तयारी छ ।
खोप अभियानका क्रममा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप दिइदैछ। विद्यालय बाहिरका १० वर्षका किशोरीहरूलाई पायक पर्ने विद्यालय वा अन्य केन्द्रमार्फत खोप लगाइदैछ ।
त्यसका लागि हरेक जिल्लामा छुट्टाछुट्टै गरी प्रदेशभर तीन हजार ३०४ खोप केन्द्र स्थापना गरिने मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत झा बताउँछन् । ‘जसमध्ये दुइ हजार १०१ वटा स्वास्थ्य संस्थाले नियमित खोप लगाउदैं छन् । भने दुइ हजार १४८ वटा प्रदेशभर बाह्य खोप केन्द्र समेतबाट खोप लगाइदैछ, ‘ उनले भने ।
उनका अनुसार पर्सामा ३३०, बारा ३४६, रौतहट ३०१, सर्लाही ५६६ वटा केन्द्रमार्फत उनीहरुलाई खोप लगाइदैछ ।
यस्तै महोत्तरी ४७६, धनुषा ४०९, सिरहा ५६६ तथा सप्तरीमा ३१० गरी जम्मा तीन हजार ३०४ वटा केन्द्र स्थापना गरी खोप अभियान सुरु भइसकेको मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो अभियानका लागि प्रत्येक खोप केन्द्रहरुमा खोपकर्ता परिचालन गरिनेछ । अर्थात् एक खोप केन्द्रमा एक खोपकर्ताले किशोरीहरुलाई खोप लगाउन सघाउने निर्देशनालयले जनाएको छ ।
अर्थात्, तीन हजार ३०४ खोप केन्द्रहरुमा बराबरी सङख्यामा खोपकर्ताहरु परिचालित गरिनेछ । प्रदेशभर तीन हजार ३०४ जना नै खोपकर्ताहरु यस कार्यमा परिचालित हुने अधिकृत झाले बताए ।
यस्तै उनका अनुसार हरेक खोप केन्द्रहरुमा यो अभियानका लागि कार्यदिन (वोर्कडेज) अनुसार स्वयम्सेविकाहरु ( भ्याक्सिनेटर) खटाइने छ।








