वीरगंज, २७ माघ । वीरगंजको मुख्य प्रवेशद्वार मानिने भन्सार क्षेत्र आसपास सञ्चालित होटल तथा स्पा सेन्टरहरूमा पछिल्लो समय खुलेआम यौनजन्य अनैतिक गतिविधि बढ्न थालेको पाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरू र स्थानीयको गुनासो अनुसार, यी क्षेत्रमा रहेका होटल, स्पा र मसाज पार्लरको आवरणमा देहव्यापार फस्टाउँदै गएको छ।
भन्सार क्षेत्र जस्तो संवेदनशील र व्यस्त ठाउँमा सञ्चालित केही होटलहरूले सुरक्षित सेल्टरका रूपमा यस्ता कार्यलाई प्रश्रय दिइरहेका छन। सार्वजनिक भएका भिडियो फुटेजहरूमा होटल सञ्चालक र बिचौलियाहरूको मिलेमतोमा अनैतिक कार्य भइरहेको संकेत मिल्छ, जसले सामाजिक मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा प्रहरीको उपस्थिति र अनुगमन न्यून भएको आरोप लगाएका छन।
भन्सार क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि होटलभित्र हुने भित्री क्रियाकलापमा निगरानी पुग्न सकेको छैन।
प्रहरीले तत्काल विशेष टोली परिचालन गरी होटल तथा स्पा सेन्टरहरूको आकस्मिक निरीक्षण गर्नुपर्ने देखिन्छ।
इजाजतपत्र विना सञ्चालित र अनैतिक कार्यमा संलग्न होटल सञ्चालकहरूलाई कडा कानुनी दायरामा ल्याउन माग गरिएको छ।
सीमावर्ती क्षेत्रमा हुने यस्ता गतिविधिले अपराध मात्र बढाउँदैन, यसले सामाजिक विकृति र असुरक्षा समेत निम्त्याउँछ। जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका युनिटहरूले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।








