वीरगंज / पर्सामा दल तथा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गराएका १०७ जना उम्मेदवारमध्ये कसैले पनि अहिलेसम्म बैंकिङ कारोबार नगरेको जानकारी प्राप्त भएको छ ।
पर्सामा एकजना उम्मेदवारलाई बढीमा रु २७ लाख निर्वाचनमा खर्च गर्न पाउने अधिकार दिइएको प्रमुख निर्वाचन अधिकृत गायत्री रेग्मीले जानकारी दिए ।
रेग्मी पर्सा निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृतसँगै मुख्य निर्वाचन अधिकृत पनि हुन् । पर्सामा चारवटा निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । तर चारवटै क्षेत्रबाट कसैले पनि निर्वाचन प्रयोजनको लागि खाता सञ्चालनको लागि प्रमाणित प्रतिलिपि नलगेको निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले बताइन् ।
नियमतः निर्वाचन कार्यालयबाट आधिकारिकपत्र लिएर उम्मेदवारले आफूले रोजेको बैंकमा खाता खोल्नुपर्नेछ र त्यसको जानकारी तत्कालै आआफ्नो निर्वाचन अधिकृतहरूलाई दिनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।
कार्यालय प्रमुख रौनियारका अनुसार निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनमा प्रचारप्रसार गर्न बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।
बैंक खाता खोली निर्वाचन प्रचारप्रसारको क्रममा भएका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरिएको छ । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ ।
यसका लागि इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई अधिकार दिइएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूले आमनिर्वाचनमा प्रचारप्रसारको क्रममा गर्ने खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगले इमेलमार्फत सबै उम्मेदवारलाई जानकारी दिइसकेको प्रमुख रौनियारले बताइन् ।
राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्चको कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने र यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगले व्यवस्था गरेको छ ।









