पर्सा–३ मा रूपेश पाण्डेको चुनावी अभियान तीव्र

वीरगंज , २८ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का उम्मेदवार पाण्डे घरदैलो, जनदर्शन तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्। स्थानीयस्तरमा देखिएको उत्साहले चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत दिएको छ।

“गयो दिन भाषणको, अब परिणाम चाहियो” भन्ने नारासहित पाण्डे विकास, सुशासन र जवाफदेहिताको एजेन्डा लिएर मतदातामाझ पुगेका छन्। घरदैलोका क्रममा नागरिकहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन्।

पकहाँमैनपुर गाउँपालिकामा सम्पन्न कार्यक्रमहरूमा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य शिव पटेल, संविधानसभा सदस्य प्रधुमन चौहान, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका अध्यक्ष तेजप्रकाश निषाद लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

पाण्डेले युवाको ऊर्जा र संगठनात्मक समर्थनले आफूलाई बलियो बनाएको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्। पर्सा–३ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

सम्बन्धित पोस्टहरुः