वीरगंज , २९ माघ –
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। उनलाई पीएसएल फ्रेन्चाइज इस्लामाबाद युनाइटेडले करिब ६० लाख पाकिस्तानी रुपैयाँमा अनुबन्ध गरेको हो।
टी–२० फर्म्याटमा आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि परिचित ऐरीको अन्तर्राष्ट्रिय प्रदर्शनलाई मध्यनजर गर्दै फ्रेन्चाइजले टोलीमा भित्र्याएको जनाएको छ।
पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर प्रभावशाली प्रदर्शन गरेका ऐरी आईसीसी टी–२० अलराउण्डर वरीयतामा समेत अग्रस्थानमा रहँदै आएका छन्।
पीएसएल आगामी मार्च अन्त्यबाट सुरु हुने तालिका रहेको छ। ऐरीको अनुबन्धसँगै नेपाली क्रिकेट खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ।









