बारा , १ फागुन –
नेकपा (एमाले) ले बाराको प्रसौनी गाउँपालिका–२ स्थित प्रसौनी बजारमा वडा स्तरीय भेला सम्पन्न गरेको छ। आगामी निर्वाचनलाई लक्षित गरी आयोजित भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विकासका एजेन्डामाथि छलफल गरिएको थियो।
भेलालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले सम्बोधन गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टीको नीति तथा घोषणापत्रअनुसार जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए। साथै, घरदैलो अभियानलाई थप तीव्र बनाउने निर्णयसमेत गरिएको आयोजकले जनाएका छन्।
भेलामा पार्टीको झण्डा, ब्यानर र नारासहित उत्साहपूर्ण वातावरण देखिएको थियो। नेताहरूले स्थानीय तहदेखि केन्द्रसम्म संगठनलाई बलियो बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट हुन आह्वान गरिएको थियो।








