वीरगंज, १ फागुन । सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा मदन रुन्चेसहित सातजनामाथि प्रहरीले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ ।
माघ २६ गते बिहान १०ः३० बजे जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर बस्ने वर्ष ५० को रून्चे मदन भन्ने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरीले चेकजाँच गर्न पुगेको थियो ।
भन्सार छली चोरी पैठारी गरी भित्राएका सामानहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा सशस्त्र प्रहरी वल गुल्म हे.क्वा.वीरगंज १३ नं.गण पर्सा र वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अधिकृतसहितको संयुक्त टोलीमाथि आक्रमण गर्नुका साथै कुटपिट तथा ढुंगामुढा गरेको आरोपमा सातजना पक्राउ परिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
गोदाममा पुगेको संयुक्त टोली माथि घेरा हाली ढुंगा मुडा, भाठा प्रहार गर्ने तथा सवारी साधन तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला पर्सा वीरगंज म.न.पा. वडा नं.१० घडिअर्वा बस्ने वर्ष ४६ को प्रमोद कुमार कानु, वडा नं.१ छपकैया बस्ने वर्ष ३८ को दिपराज सहनी मलाह, वडा नं.१० बस्ने वर्ष २० को कुन्जन सर्राफ, भारत विहार जि.मोतीहारी थाना रक्सौल बस्ने वर्ष ४० को प्रभु महतो, भागलपुर पोडिया बस्ने वर्ष ३५ को पृतम कुमार चौधरी र जिल्ला पर्सा विन्दवासिनी गा.पा.वडा नं.५ बस्ने वर्ष ५५ को श्रीचन्द्र प्रसाद साहलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । मदन गुप्ता भने फरार रहेको र उनको खोजी भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ हरि बहादुर बस्नेतले जानकारी बताएका छन् ।








