वीरगंज , ३ फागुन –
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमानले आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा सफल अवतरण गरेको छ। भारतीय सञ्चारमाध्यमले यसलाई आपतकालीन ल्यान्डिङ सुविधासहितको सडक प्रयोगको ‘ऐतिहासिक क्षण’ भनेका छन्।
प्रधानमन्त्री मोदीले आसाम भ्रमणका क्रममा इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त करिब साढे चार किलोमिटर लामो सडक अवलोकन गर्नुका साथै ब्रह्मपुत्र नदीमाथि निर्माण भएको कुमार भास्कर वर्मा पुलको उद्घाटन गरेका हुन्। उनले रनवे होइन, हाईवेमा जहाज उत्रिएको उल्लेख गर्दै यसले नयाँ इतिहास बनाएको बताएका छन्।
ईएलएफ सुविधा भएका यस्ता सडकहरू आपतकाल, विपद् तथा सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिन्छन्। भारतले आसामसहित राजस्थान, उत्तर प्रदेश र तमिलनाडुमा पनि यस्ता विशेष सडक निर्माण गरिसकेको छ।









