पर्सा , ५ फागुन —
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले घरदैलो अभियानमार्फत वीरगंज महानगरपालिकाका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका सिंहले स्थानीय बासिन्दाले भोगिरहेका समस्या सुन्दै समाधानलाई आफ्नो एजेन्डाको केन्द्रमा राख्ने बताएका हुन्।
घरदैलोका क्रममा सडक, ढल निकास, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्य सेवाका समस्या तथा रोजगारी अभाव र युवाको विदेश पलायनबारे स्थानीयले गुनासा राखेका थिए। व्यवसाय सञ्चालनमा कठिनाइ र सुरक्षित व्यापारिक वातावरणको आवश्यकता पनि प्रमुख विषयका रूपमा उठाइएको थियो।
उम्मेदवार सिंहले पारदर्शी र जवाफदेही शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना र सुरक्षित व्यापारिक वातावरण निर्माणलाई प्राथमिकता दिने बताए। उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीय युवाहरू, महिलाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानले चुनावी माहोल थप सक्रिय बनेको आयोजकले जनाएको छ।









