हरि पन्तको समर्थनमा टेढामा रास्वपाको शक्ति प्रदर्शन

वीरगंज । पर्सा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तको पक्षमा टेढाका स्थानीय खुला रूपमा उत्रिएका छन् । मंगलबार टेढामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गर्दै पाँच सयभन्दा बढी नागरिक रास्वपामा आबद्ध भएको पन्तले जानकारी दिएका छन् ।

नवप्रवेशीहरूले देशले अब स्पष्ट परिवर्तन खोजिरहेको उल्लेख गर्दै रास्वपा नै जनताको आशा, भरोसा र रूपान्तरणको मुख्य शक्ति बनेको धारणा व्यक्त गरेका थिए । उनीहरूले पुराना राजनीतिक अभ्यासबाट निराश बनेको जनताले नयाँ विकल्पतर्फ अग्रसर भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति समेत रहेका उम्मेदवार पन्तले मुलुकभर पार्टीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको दाबी गरे । आगामी सरकार रास्वपाले बहुमतसहित गठन गर्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्दै उनले विगतमा सत्तामा रहेका दलहरूकै कारण विकास र समृद्धि अवरुद्ध भएको आरोप लगाए। अब मतदाताले नयाँ शक्ति रोज्नेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए । कार्यक्रममा टेढाका स्थानीय अगुवा साकिर हुसेन, अबुलेश हुसेनसहित सगिर आलम, पूर्ण सापकोटा, मनीष यादव, कमला भुजेल र चन्दन यादवलगायतले पनि मन्तव्य राख्दै रास्वपाप्रति समर्थन जनाएका थिए । कार्यक्रमले टेढा क्षेत्रमा रास्वपाको संगठन विस्तार र चुनावी सक्रियता तीव्र बन्दै गएको संकेत गरेको छ ।

सम्बन्धित पोस्टहरुः