इनरुवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनरुवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा सुझाव सुन्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्दै रोजगारी अभावका कारण केही युवाहरू लागुऔषधको चपेटामा परेको विषयलाई गम्भीर रूपमा लिएको बताउनुभयो। आफू निर्वाचित भए लगत्तै स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भई काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याएर विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने र क्षेत्रको समग्र विकासका लागि पहल गर्ने बताउनुभयो।
कार्यक्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टी जनआन्दोलनपछि स्थापित नयाँ आशाको पार्टी भएको उल्लेख गर्दै “हामी सबै तपाईंको साथमा छौं, राम्रो काम गर्नुहोस्” भन्दै उम्मेदवार सिंहप्रति समर्थन र विश्वास व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः