आगामी निर्वाचनका लागि बारामा नमूना मतदान सम्पन्न

वीरगंज, ७ फागुन । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा बाराको कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निर्वाचनका दिन अपनाइने प्रक्रियाको प्रयोगात्मक अभ्यास गरिएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित बिहीवार आयोजित नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो ।
 
निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने र मतदातालाई मतदानको सही विधिवारे जानकारी गराउने उद्देश्यले आयोजित यस कार्यक्रममा प्रत्यक्ष र समानुपातिक गरी दुर्ईवटा छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो।
नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरूष र ज्येष्ठ नागरिक तथा अशक्तका लागि तीनवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो। कार्यक्रममा मतदान अधिकृत र कर्मचारीहरूले मतपत्रमा सही तरिकाले छाप लगाउँने, मतपेटिकामा खसाल्ने र मतदानका क्रममा हुनसक्ने सम्भावित विवाद व्यवस्थापनवारे अभ्यास गराएका थिए।
उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बलका गणपति विशाल सिलवाल, नेपाली सेनाका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवीन चौधरी सहित सुरक्षा निकायका प्रमुखहरू र निर्वाचन अधिकृतहरूको सहभागीता रहेको थियो।
सम्बन्धित पोस्टहरुः