बारा, ८ फागुन । बारा निर्वाचन क्षेत्र नं.–४, विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटिआई बजारमा समुन्नत नेपाल पार्टीका सभापति तथा पूर्व प्रहरी महानिरीक्षक (आई.जी.पी.) सर्वेन्द्र खनालले घरदैंलो कार्यक्रम गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, सुरक्षा र समृद्धिको अपरिहार्यतामाथि जोड दिए । वर्तमान राजनीतिक अवस्था र राष्ट्रको आवश्यकतालाई औँल्याउँदै इमानदार नेतृत्व, विधिको शासन र पारदर्शिता बिना कुनै पनि राष्ट्रको दिगो विकास सम्भव नहुने स्पष्ट पार्दै खनालले भने हामीले एक यस्तो नेपालको कल्पना गरेका छौं जहाँ हरेक नागरिकले सुरक्षित महसुस गरोस्, जहाँ न्याय पाउन कोही भौँतारिनु नपरोस् र जहाँ हरेक नेपालीले आफ्नो पौरखले समृद्ध जीवन बिताउन सकोस् ।
युवा पलायनको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै युवाहरूका लागि पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। यसका लागि कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण, साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन, र स्थानीय स्रोत–साधनहरूको अधिकतम तथा विवेकपूर्ण उपयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
हामी सत्तामा पुग्नका लागि मात्रै राजनीतिमा आएका होइनौं, खनालले स्पष्ट पार्दै भने हाम्रो मुख्य उद्देश्य भनेको व्यवस्थामा सुधार ल्याउनु र जनताको जीवनस्तरलाई वास्तविक रूपमा उकास्नु हो। उनले समुन्नत, सुरक्षित र आत्मनिर्भर नेपाल निर्माणका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध भई अघि बढ्न हार्दिक आहवान गरे ।
जनताको साथ र विश्वास नै कुनै पनि परिवर्तनको मुख्य आधार भएको बताउँदै उहाँले नागरिकहरूको सक्रिय सहभागीता र सहयोगले मात्रै राष्ट्रले चाहेको परिवर्तन सम्भव हुने कुरामा जोड दिए । यस क्षेत्रका स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा खनालले समुन्नत नेपाल पार्टीको भिजन र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता स्पष्ट पारेका थिए।









