वीरगंज , ८ फागुन –
बाराको निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. अरविन्द साह को चुनावी अभियान तीव्र बन्दै गएको छ। आज कलैया उपमहानगरपालिका–१८ मोतिसरमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको छ।
घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै साहले आफ्ना प्रमुख एजेन्डा, विकासका प्राथमिकता र सुशासनसम्बन्धी प्रतिबद्धता सार्वजनिक गरेका छन्। घरदैलोका क्रममा स्थानीयले टीका, खादा र फूलमालासहित स्वागत गरेका थिए भने युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको थियो।
छोटो सम्बोधनमा साहले शिक्षा, स्वास्थ्य, रोजगारी र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले निर्वाचन क्षेत्र नम्बर–३ लाई विकास र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाका कार्यकर्ताका अनुसार पछिल्ला दिनमा पार्टीप्रति आकर्षण बढ्दै गएको छ। रास्वपाको केन्द्रीय परिषद् सदस्य डा. सुशिल साह ले स्थानीयको सहभागिता र उत्साहले आगामी निर्वाचनमा जनसमर्थन बलियो बन्दै गएको संकेत गरेको बताएका छन्। निर्वाचन नजिकिँदै जाँदा मोतिसर क्षेत्रसहित विभिन्न वडामा देखिएको समर्थनले क्षेत्र नम्बर–३ को चुनावी माहोल थप सक्रिय बनेको छ।









