गौर–६ सबगढवामा समुदायबीच विवाद, सुरक्षा कडा

वीरगंज , ८ फागुन –

रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिँदा स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्थानीय स्रोतका अनुसार घटना बिहीबार राति सुरु भएको हो। हिन्दु समुदायको घरमा विवाह कार्यक्रम चलिरहेको बेला जन्ती बाजा बजाउँदै सबगढवा गाउँ पुगेको थियो भने नजिकै मस्जिदमा मुस्लिम समुदायका व्यक्तिहरू रातिको नमाज पढिरहेका थिए। बाजा बजाएको विषयलाई लिएर दुवै पक्षबीच भनाभन सुरु भएको र केही मुस्लिम व्यक्तिले डिजे समूहका सदस्यलाई कुटपिट गरेको आरोप लागेको जनाइएको छ।

घटना शुक्रवार बिहानदेखि दुवै समुदायबीच ढुंगामुढा र पथरावमा परिणत भएको र स्थानीय क्षेत्रमा तनाव फैलिएको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल का अनुसार एसपी सिताराम रिजाल र एसपी रामहरि अधिकारी घटनास्थलमा सक्रिय रहेका छन्।

स्थानीय प्रशासनले सर्वसाधारणलाई संयमित रहन र अफवाहमा नपर्न अनुरोध गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। स्थानीयले घटनाले साम्प्रदायिक सद्भाव कायम राख्न चुनौती थपेको बताएका छन्।

सम्बन्धित पोस्टहरुः