वीरगंज –२३ मा जसपाका २५० बढी नेता–कार्यकर्ता एमाले प्रवेश

वीरगंज , ८ फागुन –

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर २३ मा जनता समाजवादी पार्टी (जसपा) का वडा इकाइ कमिटी अध्यक्षसहित २५० भन्दा बढी स्थानीय नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

शुक्रबार बिहान प्रसौनीमा आयोजित नेकपा एमालेको पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव, नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादवलगायत २५० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा नवप्रवेशीलाई पर्सा–१ का नेकपा एमाले उम्मेदवार प्रदीप यादव ले अबीर टीका लगाएर पार्टीमा स्वागत गर्दै वडा नम्बर २३ मा एमाले थप बलियो बनेको बताएका छन्। उनले जेनजी आन्दोलनपछि देश र संविधान खतरामा परेको दाबी गर्दै त्यसको रक्षा गर्न सक्ने राजनीतिक शक्ति एमाले मात्र भएको जिकिर गरेका छन्।

यादवले मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशीता लगायतका उपलब्धि जोगाउन एमाले सक्षम देखिएकाले आफूले एमाले रोजेको स्पष्ट पारे। पर्सा–१ मा देखिएका अन्य उम्मेदवारहरू जनताको दुखसुखमा नदेखिएको आरोप लगाउँदै उनले संकटका बेला जनतासँग उभिने उम्मेदवारको मूल्यांकन गरेर फागुन २१ गते मतदान गर्न मतदातासँग अपिल गरे।

एमाले वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहालगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः