रास्वपाका उम्मेदवार अठराहा सुगौली टोलमा घरदैलो

वीरगञ्ज, ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को अठराहा सुगौली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
मतदाताहरूसँग अन्तरक्रिया गर्दै कानुले “घण्टी” चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । उनले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कानुले जनताको जीवनस्तर सुधार र भुइँतहका नागरिकको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य रहेको बताए । विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले पर्सा – २ मा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति नभएको टिप्पणी गरे । “यो क्षेत्र आज पनि दुई दशकअघिकै अवस्थामा छ,” कानुले भने, “निर्वाचित भएपछि यो अवस्थालाई परिवर्तन गर्नेछु ।”

आफूलाई जनतासँग काम गर्ने अनुभव भएको व्यक्ति भएको दाबी गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कानुले आफ्नो प्रमुख चुनावी एजेन्डा सुशासन, आर्थिक विकास, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रहरूमा केन्द्रित रहेको बताए ।

उनले सुशासन र डिजिटल प्रशासनमा जोड दिँदै सरकारी सेवाहरू डिजिटलाइज गरेर पारदर्शी बनाउने, ई-गभर्नेन्स प्रणाली लागू गर्ने र भ्रष्टाचार रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उदाहरणका लागि, एकीकृत डिजिटल प्लेटफर्मबाट सेवा प्रदान गर्ने र नागरिकको डाटा सुरक्षित राख्ने उनको योजना पनि छ ।

सोहीगारी अर्थतन्त्र र विकासका लागि कानुले आर्थिक सुधार, रोजगारी सिर्जना र लगानी आकर्षणलाई प्राथमिकता दिने बताएका छन् । उनले स्टार्टअपहरूका लागि विशेष कोष स्थापना र विदेशी लगानीलाई सहज बनाउने जस्ता कदमहरूबाट स्थानीय युवाहरू लाभान्वित हुने उनको अपेक्षा छ ।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाएका थिए ।

सम्बन्धित पोस्टहरुः