वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जिल्लाभर रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी प्रणालीसँग जोड्ने व्यवस्था गरिएको जनाएका छन् ।
उक्त सिसिटिभी प्रणालीमार्फत मतदान स्थलहरूको निरन्तर निगरानी गरी फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायहरूसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको जानकारी गराएको छ ।
मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकलाई सहयोग गरिदिन नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।








