अपहरित बालिकाको सकुशल उद्धार

सप्तरी, ८ फागुनः मङ्गलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
मङ्गलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए ।
यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।
सम्बन्धित पोस्टहरुः