वीरगंज , ९ फागुन –
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नागरिकता विवरणमा फरक–फरक नाम प्रयोग गरिएको दाबी गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ।
काठमाडौँ–३१ का युवराज सफलले शुक्रबार मन्त्रालयमा दिएको उजुरीमा बालेनले २०६३ सालमा महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भएको तर २०७९ सालमा काठमाडौँबाट लिएको प्रतिलिपि नागरिकतामा ‘शाह’ थर प्रयोग गरिएको उल्लेख छ। यसलाई नागरिकता ऐनविपरीत झुटो विवरण पेश गरेको भन्दै छानबिनको माग गरिएको छ।
उजुरीमा नागरिकता विवरणको अनुसन्धान गरी दोष प्रमाणित भए नागरिकता रद्द गर्न तथा कानुनी कारबाही अघि बढाउन माग गरिएको छ। गृह मन्त्रालयले उजुरी दर्ता भइसकेको र आवश्यक प्रक्रिया अनुसार अध्ययन हुने जनाएको छ।









