कर्फ्यू उल्लंघन गरेको आरोपमा गौरमा १८ जना पक्राउ

रौतहट, ९ फागुन । गौर नगरपालिका मा कर्फ्यू आदेश उल्लङघन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले निषेधित क्षेत्रमा आवतजावत गर्ने वा समूह बनाएर भेला हुन खोज्नेहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

सदरमुकाम गौरमा लागू कफ्र्यु आदेश अवज्ञा गर्दै हिँडडुल र समूह बनाएर भेला हुन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिवार दिउँसो १ बजेदेखि अर्काे आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। कफ्र्यु क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत, भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्णरूपमा रोक लगाइएको छ।

पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्र क्षेत्र कर्फ्यूको दायरामा राखिएको छ। गौर–६ सवगढामा दुर्ई समुदायबीच पुनः झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ। प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ। साथै सर्वसाधारणलाई कफ्र्यु पूर्णरूपमा पालना गरी शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरिएको छ।

गौर नगरपालिका–६, सवगढामा शनिवार बिहान दुर्ई समुदाय बीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यूआदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

सम्बन्धित पोस्टहरुः