झबराहा टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो

वीरगञ्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले पर्सागढी नगरपालिकाको झबराहा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा कानुले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले झबराहा टोलसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले लामो समयदेखि भोग्दै आएको मल र सिँचाइ पानीको समस्यालाई गम्भीर रूपमा लिएको बताउँदै निर्वाचित भएमा ती समस्याको समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाए।
“कृषि नै यहाँको मुख्य आधार हो,” कानुले भने, “किसानले समयमै मल र सिँचाइ पानी नपाएसम्म समृद्धिको कल्पना गर्न सकिँदैन। म निर्वाचित भएपछि यी विषयलाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेछु।”
युवालाई लक्षित गर्दै कानुले स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वरोजगार र रोजगारीका अवसर सिर्जना गर्ने योजना पनि सार्वजनिक गरे। स्थानीय तहमै रोजगारीका अवसर विस्तार भएमा वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
त्यसैगरी, प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच, शिक्षाको गुणस्तर सुधार रास्वपाको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै कानुले भने, “जनताको आधारभूत आवश्यकता पूरा नगरी विकासको कुरा गर्नु अर्थहीन हुन्छ।”
घरदैलोका क्रममा झबराहा र बढनिहार क्षेत्रका ज्येष्ठ नागरिकहरूले उम्मेदवार कानुलाई खुला समर्थन जनाउँदै “अबको नेतृत्व परिवर्तनको हो” र “मतदान सन्तानको भविष्यका लागि” जस्ता नारा लगाएका थिए। लामो समयदेखि उस्तै प्रवृत्तिको राजनीतिबाट आजित स्थानीयहरू यसपटक सचेत र परिवर्तनमुखी निर्णय लिन तयार देखिएका छन्।
कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।
घरदैलो कार्यक्रमले झबराहा क्षेत्रमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको अपेक्षा स्पष्ट रूपमा देखाएको छ।
सम्बन्धित पोस्टहरुः