वीरगंज , ११ फागुन –
वीरगंजमा जारी कर्फ्यू आदेशलाई लिएर स्थानीयस्तरमा आलोचना र समर्थन दुवै प्रकारका प्रतिक्रिया देखिन थालेका छन्। वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको घटनापछि सम्पूर्ण बजार क्षेत्र बन्द हुने गरी कर्फ्यू लागू गरिएपछि नागरिक असन्तुष्टि बढेको हो।
निर्वाचन र विवाहको लगन चलिरहेको समय भएकाले कर्फ्यू व्यवहारिक नभएको भन्दै केही स्थानीयले एउटै वडाको घटनाका आधारमा पूरै शहर ठप्प पार्नु उचित नभएको गुनासो गरेका छन्। उनीहरूले यसले आर्थिक गतिविधि र जनजीवन प्रभावित भएको बताएका छन्।
यद्यपि, प्रशासनले भने कर्फ्यू आदेश सम्भावित थप तनाव र हिंसा रोक्न आवश्यक कदम भएको स्पष्ट पारेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अवस्था नियन्त्रण बाहिर जान नदिन र शान्ति सुरक्षालाई कायम राख्न कर्फ्यू जारी गर्नुपरेको प्रतिक्रिया दिएका छन्।
यसैबीच सामाजिक अभियन्ता र युवाहरूले शहर बन्दभन्दा लक्षित सुरक्षा व्यवस्था मजबुत बनाइनुपर्ने धारणा राखेका छन्। आइतबार साँझ दुई समुदायबीच झडप हुँदा केही घाइते र पक्राउ परेपछि सोमबार बिहान ९:४५ बजेदेखि कर्फ्यू लागू गरिएको हो।








