श्रीपुर घटनाबारे सर्वपक्षीय बैठकका तीन निर्णय, दोषीलाई कानुनी दायरामा ल्याइने

वीरगंज , ११ फागुन —

वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको घटनासम्बन्धी विषयलाई लिएर जिल्ला प्रसाशन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले दोषी पहिचान गरी कानुनी दायरामा ल्याउनेसहित तीन महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले आईतबार बेलुकी भएको घटनाबाट उत्पन्न परिस्थितिको गहिरो समीक्षा गर्दै घटनामा संलग्न दोषी पक्षलाई स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको हो। पीडित पक्षबाट जाहेरी लिई अनुसन्धानलाई निष्कर्षमा पुर्यााउन र दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहकार्य गर्ने सहमति जनाइएको छ ।

यस्तै, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा हेट स्पिच प्रवाह गर्ने कार्यलाई साइबर कानुन तथा प्रचलित कानुनअनुसार तत्काल कारबाहीको दायरामा ल्याइने निर्णय गरिएको छ ।

बैठकले आगामी दिनमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न उपस्थित सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरू र जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था तथा निकायबाट जिम्मेवार भूमिका निर्वाह गर्ने र संयमता अपनाउने प्रतिबद्धता व्यक्त गर्ने निर्णय पनि गरेको छ । बैठकका निर्णयमा विभिन्न राजनीतिक, सामाजिक र धार्मिक प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन ।

उक्त घटनालाई नै लिएर आज बिहानदेखि पर्सामा अनिश्चितकालको लागी जारि गरिएको कर्फ्यु आदेश अहिले पनि जारि छ ।

सम्बन्धित पोस्टहरुः