बारा , १२ फागुन —
कलैया उपमहानगरपालिका वडा नं. २ कवलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्जिनियर अरविन्द साहले चुनावी घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। उनले आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गरी “घण्टी” चिन्हलाई समर्थन गर्न अपिल गरेका छन्।
घरदैलोमा साहले पारदर्शी प्रशासन, भ्रष्टाचार उन्मूलन, जनउत्तरदायी शासन, व्यवस्थित ट्राफिक र सहुलियत कर्जा जस्ता मुख्य एजेन्डालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। महिला सशक्तीकरणतर्फ “घरबाटै सुरु, आत्मसम्मान सहित अगाडि” नारासहित उद्यमी महिला कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेका छन्।
युवालाई स्वरोजगारमा प्रोत्साहन र “एक घर–एक रोजगारी” अवधारणा अनुसार सीपमूलक तालिम केन्द्र स्थापना गर्ने, स्टार्टअप संस्कृति विकास गर्ने र वैदेशिक रोजगारीको आवश्यकता घटाउने लक्ष्य पनि उनले प्रस्तुत गरे।
कृषि क्षेत्रमा आधुनिक प्रणाली, सिँचाइ विस्तार, मल–बिउ र बजार पहुँच सुनिश्चित गर्ने साथै नगदे बाली र प्रशोधन उद्योग स्थापना गर्ने प्रतिबद्धता पनि साहले जनाए। संघीय बजेटमार्फत बारा–३ लाई प्राथमिकतामा राखी बहुवर्षीय पूर्वाधार आयोजना अघि बढाउने योजना पनि उनले उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा उनले मतदातासँग घण्टी छापमा मतदान गरी क्षेत्रको विकास, सुशासन र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेका छन्।







